औषधीय गुण बोकेको सिम्रिकबाट आम्दानी गर्दै भण्डारी

पोखरा–२३ निर्मलपोखरीस्थित खच्र्याङका अगुवा कृषक टीकाराम भण्डारीको यतिखेर औषधीयगुण बोकेको वनस्पति सिम्रिक राम्रो आम्दानीको स्रोत बनेको छ । महिनाँै अस्पताल धाएर हजाराँै रुपैयाँ बराबरको औषधि खाँदा पनि सन्चो नभएका जोर्नी दुख्ने बिरामीका लागि आयुर्वेदिक महत्वको सिम्रिक बरदान सावित हुनाका साथै उहाँको थप आम्दानीको स्रोत बनेको हो ।

छ वर्षअघि घरको छेउमै बारीको डिलमा रोपेका १६ मध्ये १४ वटा बिरुवाले उत्पादन दिन थालेको बताउँदै भण्डारीले सिम्रिक बिक्रीबाट पहिलो वर्षमा रु ९० हजारभन्दा बढी आम्दानी भइसकेको बताउनुभयो । “सिम्रिकको फललाई दूध, घ्यू वा तातोपानीसँग मिलाएर पाँच दिनसम्म दैनिक दुईपटक एक चम्चाका दरले सेवन गर्दा शरीरका भाँचिएको, सड्के मर्केका, पिल्सिएका एवम् जोर्नी दुखेका र ग्यास्ट्रिकलगायतका रोगी निको भएका छन्”, उहाँले भन्नुभयो – “सिम्रिकका पारखीहरु खरिद गर्न घरमै आउने गरेका छन् ।” रुखको मुनामा फल्ने सिन्दूर प्रजातिअन्तर्गतको सिम्रिक प्रायः जेठ महिनामा फूल फुल्ने र फागुनमा फसल दिने बताउँदै कृषक भण्डारीले उत्पादन राम्रो भएको हुँदा यस वर्ष रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ग्राम सिम्रिकको फल लगभग रु ५०० मा बिक्री हुने गरेको छ । प्रत्येक छ÷छ महिनामा सेवन गर्न सकिने सो फल उच्च रक्तचापका बिरामीका लागि भने लाभदायी हुँदैन । सिम्रिकको फल बिक्रीबाट आयआर्जन हुनाका साथै लामो समयदेखि शरीरको दुखाईबाट पीडित बिरामीका लागि अचुक औषधि बनेको जानकारी दिँदै भण्डारीले एकैपटकमा धन र धर्म दुवै प्राप्त हुने सिम्रिक खेतीको विस्तारका लागि यस वर्ष पाँच हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको बताउनुभयो ।

लामो समयदेखि उपचार गराएर एलोपेथी औषधि खाँदा पनि बीसको उन्नाइस नभएको ढाड दुख्ने रोग छिमेकीले सित्तैमा दिएको तीन मात्रा आयुर्वेदिक औषधिले सन्चो भई पुनर्जन्मै पाएको जस्तो भएको छ – स्थानीय शुभलाल नेपालीले भन्नुभयो । शरीर दुख्ने बिरामीका कारण हिँडडुल गर्दासमेत लौरोको सहायता लिन बाध्य निर्मल पोखरी गाविसका पूर्व अध्यक्ष कमलमोहन पौडेल पनि सिम्रिकको फल आफ्ना लागि बरदान सावित भएको बताउनुहुन्छ ।

एकपटक खाएकाले आफू र आफन्तका लागि पटक पटक माग गर्ने गरेको सिम्रिक छिमेकी गाविस, पोखरा बजारलगायत विदेशबाट समेत माग बढ्न थालेको टीकारामकी श्रीमती दुर्गामाया बताउनुहुन्छ । उहाँका अनुसार घरमा उत्पादित सिम्रिकसहित दूधजन्य वस्तु, केरा, सुन्तला, अकबरे खुर्सानी, तरकारी, अदुवा,लगायतका विभिन्न उत्पादन पोखरा बजारमा बिक्री गरी मासिक रु एक लाखभन्दा बढी आमदानी गर्ने गरेकी छु । ग्रामीण क्षेत्रका बाँझो जमिनमा सम्भावनाका अवसर खोजेर आयआर्जन र औषधिजन्य वनस्पतिको विस्तार गर्न राज्यस्तरबाट पहल भए स्वदेशमै रोजगारी सिर्जना भई मुलुकको समृद्धि र वातावरणीय सन्तुलनमा समेत टेवा पुग्ने विज्ञहरुको धारणा छ । हरि बास्तोला/रासस

Leave a Reply

Your email address will not be published.