तीन दलका शीर्ष नेताहरुको पुतला दहन

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।

बैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गराउने सरकारको घोषणा विरुद्ध आन्दोलनको घोषणा गरेको मोर्चाका कार्यकर्ताहरुले बुधबार बेलुकी जिल्ला प्रशासन कार्यालय अगाडी पुतला जलाएका हुन् ।

फोरम नेपाल, सदभावना पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी लगायतका मधेशवादी दल तथा मधेशी विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले मधेशी एकता जिन्दावाद, संशोधन प्रस्ताव पारित गर जस्ता नारा लगाएका थिए ।

मोर्चाको बन्दले सप्तरीसहित मधेशका जिल्लाहरुमा यातायातका साधन चल्न सकेको छैन । शैक्षिक संस्था, उद्योगधन्दा, वित्तीय कारोबार, व्यापार व्यवसाय समेत पूर्ण रुपमा बन्द रहेको छ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुको दैनिक कामकाज समेत प्रभावित भएको छ ।

यसैगरी आफूहरुको बन्द आह्वानलाई अवज्ञा गर्दै कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाले राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृतको कक्ष र लेखा शाखामा तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयको सिसाहरु फुटेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.