विराटनगरबाट पनि माउन्टेन फ्लाइट

विराटनगर:  विराटनगरबाट पहिलो पटक पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरिएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको औद्योगिक प्रदर्शनी विराट एक्स्पोको सन्दर्भ पारेर शनिबार विराटनगर विमानस्थलबाट पहिलो पटक पर्वतीय उडान भएको हो ।

शनिबार बिहान विराटनगर विमानस्थलबाट यती एयरको जहाज २२ जना यात्रु बोकेर हिमालयतर्फ उडेको थियो । चार्टर गरिएको जहाजमा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डीआईजी रमेश भट्टराई, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, उद्योगी नन्दु राठी, पर्यटन तथा होटेल व्यवसायी भविश श्रेष्ठलगायत सवार थिए ।

जहाजले सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकरलगायत हिमालको दृश्यावलोकन गराएको पर्यटन व्यवसायी श्रेष्ठले बताए । उनले भने, ‘पचास मिनेटको यात्रा निकै रोमाञ्चक थियो ।’ माउन्टेन फ्लाइटमार्फत भारतको पश्चिम बंगालमा पर्यटन प्रवद्र्धन गर्न सकिने सन्देश दिन कार्यक्रम आयोजना गरिएको श्रेष्ठले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका अधिकृतले भने, ‘हामीले भारतका पर्यटक मात्रै विराटनगरबाट उडाएर हिमालयको दृश्यावलोकन गराउन सक्यौं भने पनि निकै ठूलो उपलब्धी हुने थियो ।’ पूर्वी क्षेत्रमा पर्यटन प्रवद्र्धन गराउन बोर्ड पनि सक्रिय रहेको उनले बताए । पहिलो पटक माउन्टेन फ्लाइटमा गएकी विराटनगरकी महिला उद्यमी शिवा उपाध्यायले यो अनुभवन निकै रमाइलो भएको बताइन् । उनले भनिन्, ‘आँखै अगाडि हातैले छोइएला जस्तो गरी हिमालको दर्शन गर्न पाइयो ।’ उनले पूर्वी क्षेत्रमा हिमालको अवलोकन गर्न काठमाडौंबाट मात्र प्लेन चढ्ने व्यवस्थाले पूर्वेली मर्कामा परेको बताइन् ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले जम्मा ५० मिनेटको फ्लाइटका क्रममा महत्वपूर्ण हिमाल हेर्न पाएको बताए । ‘पूर्वी क्षेत्र पर्यटनका हिसाबले निकै धनी छ,’ उनले भने, ‘हप्तामा दुई चार वटा माउन्टेन फ्लाइट यतैबाट गराउन सकिँयो भने निकै राम्रो हुन्थ्यो ।’ तीन दिनसम्म दैनिक एउटा माउन्टेन फ्लाइट गरिने उनले बताए ।

विराटनगमा जारी औद्योगिक प्रदर्शनी विराट एक्स्पोको अवसरमा हेलिकोप्टरमा सयर गर्न चाहनेका लागि सेवा सुरु भएको छ । शुक्रबारबाट माउन्टेन एयरको हेलिकोप्टरले दैनिक १० वटा फ्लाइट गराइरहेको छ । विराटनगर बजारको परिक्रमा गराएर हेलिकोप्टरले मेलास्थल विराट नर्सिङ होम नजिकै लगेर ल्यान्डिङ गर्ने गरेको छ ।

मेला अवधिभर हेलिकोप्टरले विराटनगरको आकासमाथि उडेर नगर परिक्रमा गर्ने व्यवस्था मिलाएको होटेल एसिया टिक हेलिसिटी टुरका सञ्चालक पुण्य भट्टराईले जानकारी दिए । उनले भने, ‘सात हजार पाँच सय रुपैयाँ तिरेर १० मिनेटसम्म आकासमाथिबाट नगरको दृश्य हेर्न सकिन्छ ।’एक्स्पोको आकर्षणका रूपमा हेलिकोप्टर सयरलाई पनि लिइएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए । विराटनगरमा जारी विराट एक्स्पोमा शुक्रबारदेखि अवलोकनकर्ताको निकै भीड लागेको छ ।

पूर्वाञ्चलका पर्यटकीय क्षेत्र कोसीटप्पु, सखडा, कंकालिनी, दन्तकाली आदि क्षेत्रको अवलोकनका लागि प्याकेज राखिएको छ ।इन्फोः शुक्रबारबाट माउन्टेन एयरको हेलिकोप्टरले दैनिक १० वटा फ्लाइट गराइरहेको छ । विराटनगर बजारको परिक्रमा गराएर हेलिकोप्टरले मेलास्थल विराट नर्सिङ होम नजिकै लगेर ल्यान्डिङ गर्ने गरेको छ । यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित भएको छ |

Leave a Reply

Your email address will not be published.